राप्कोट, स्याङ्जाका राजकुमार काफ्ले महिलासँग अनैतिक सम्बन्ध राखेको अभियोगमा अहिले साउदीको अरेबियाको मलाजस्थी जेलमा छन्। वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनलाई महिलाहरूसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा साउदी प्रहरील पक्राउ गरेको थियो। उनका परिवारले छुटाउनका लागि कूटनीतिक पहल गरिरहेका छन्। साउदीस्थित दूतावासले पनि उनीमाथि लागेको अभियोग हटाउन पहल गरिरहेको छ। तर, साउदीमा प्रतिबन्ध गरिएको महिलासँगको अनैतिक सम्बन्धमा उनको संलग्नता देखिएको भन्दै स्थानीय प्रहरीले उनीमाथि मुद्दा चलाएको थियो।
साउदी अरेबियामा काम गर्न गएका नेपालीहरू विभिन्न अभियोगमा जेल परेका छन्। हत्या, चोरी आदि अभियोगका साथै मादक पदार्थ सेवन गरेको आरोपमा पनि जेल पर्ने नेपाली थुप्रै छन्।
साउदीमा रहेका झन्डै पाँच लाख नेपालीले त्यहाँ काम र माम मात्रै पाएका छैनन्। त्यहाँको कानुनबारे राम्रो जानकारी नपाएका कारण विभिन्न अभियोगमा जेल बस्न बाध्य भएका छन्। खासगरी घरमा श्रीमती छाडेर जानेहरू विभिन्न मुलुकबाट गएका महिला कामदारसँगको अनैतिक सम्बन्धका कारण जेलमा बस्न बाध्य छन्।
यस्तै अभियोगमा अल हायरस्थित जेलको चिसो छिँडीमा रात काटिरहेका छन्, चितवन, जगतपुरका सुनील मल्ल। उनलाई पनि अनैतिक सम्बन्ध राखेको अभियोग लागेको छ। उनी आफूलाई फसाइएको बताउँछन् तर साउदी प्रहरी मान्न तयार छैन। उनीसँगै उक्त अभियोगमा फैजु रहमान, ऋषिराम चालिसे आदि पनि जेलमा छन्। त्यहाँस्थित नेपाली दूतावासले उनीहरूमाथि लागेकोे अभियोगबारे बुझ्ने प्रयास गरेको छ। त्यसबाहेक साउदीमा रहेका नेपाली संघसंस्थाले पनि उनीहरूको अभियोगबारे बुझ्ने प्रयत्न गरिरहेको त्यहाँस्थित दूतावासले जनाएको छ।
साउदीका विभिन्न जेलमा रहेका ८२ जनाभन्दा बढीको नाम दूतावासमा पुगिसकेको छ। उनीहरूमाथि अनैतिक सम्बन्धको अभियोग मात्र छैन। हत्या, मादकपदार्थ सेवन, चोरी, दुर्घटना गराएको लगायत अभियोग पनि छन्।
मलाजस्थित जेलमा रहेका दलबहादुर कामीलाई हत्या अभियोग छ। स्थानीयको हत्या गरेको अभियोगमा उनी जेलमा छन्। उनको रिहाइका लागि पनि नेपाली दूतावासले प्रयास गरिरहेको जनाएको छ। उनी मात्र होइनन्, हत्या गरेकै अभियोगमा जितबहादुर परियार पनि उनीसँगै थुनामा छन्। उनले कसको हत्या गरे भन्ने चाहिँ साउदी प्रशासनले खुलाएको छैन।
नेपालमा प्रहरी रिपोर्ट बनाएर स्वच्छ छविको प्रमाणपत्र लिए पनि वैदेशिक रोजगारीका क्रममा नेपाली कामदार विभिन्न अपराधका आरोपमा जेल पुगेका छन्। सामान्यतया दुर्घटनाको अभियोग लगाइएकाहरूका लागि पहल गर्न सहज भए पनि हत्यालगायत उक्त मुलुकमा वर्जित काम गरेका अन्यलाई भने नेपाली प्रशासनले छुटाउन मुश्किल हुन्छ। वैदेशिक रोजगारीमा जाँदा उक्त देशको कानुनबारे बुझ्नु अनिवार्य छ। तर धेरै नेपालीले विदेशका कानुन नबुझेकाले थुनामा पर्ने गरेका छन्।
नेपालको स्थायी ठेगाना खुल्न नसकेका मेघनाथ भुसाल कम्पनीमा पैसा चोरीको अभियोगमा जेल हालिए। कम्पनीले उनीमाथि रकम चोरीको अभियोग लगायो र साउदी प्रहरीले मलाज जेल चलान गरेको थियो। त्यस्तै इलेक्ट्रिक केबल हराएको अभियोगमा विष्णुकुमार र कुलबहादुर पनि जेल जानुपर्यो।
यस्ता थुपै्र प्रकारका अभियोगमा नेपालीहरू जेल पर्ने गरेका छन्। यी आपराधिक मुद्दामा जेल चलान नै गरिएका र मुद्दाको तयारी भएका केही उदाहरण हुन्। उनीहरूको बचाउका लागि दूतावासले साउदी सरकारसँग बारम्बार आग्रह गरिरहेको छ।
दैनिक ६० जना नेपाली साउदी प्रहरीको कस्टडीमा पुग्छन्। नेपालबाट वैधानिक रूपमा साउदी पुगे पनि त्यहाँ अवैधानिक हुने कारणले पनि नेपालीको यत्रो संख्या दैनिकजसो पक्राउ पर्ने गरेको साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए।
पछिल्लो पटक साउदी सरकारले भगुवा कामदार लिने कम्पनीलाई एक लाख रियाल जरिवाना र मालिकलाई दुई वर्ष जेल सजायको नियम ल्याएपछि अवैधानिक रूपमा काम गरिरहेका कम्तीमा ६० देखि ७० हजार नेपाली कामदार अहिले समस्यामा परेको राजदूत पाण्डेले बताए। 'नेपाल सरकारले उनीहरूको सुरक्षाका लागि साउदी सरकारसँग आममाफीको प्रस्ताव नगरे नेपाली कामदार अलपत्र पर्ने क्रम बढिरहनेछ,' पाण्डे भने। उनले विभिन्न अभियोगमा जेलमा रहेका नेपालीको उद्धारका लागि पनि दूतावास सक्रिय भएको बताए।
बानीले पुर्यायो जेल
खाडी मुलुक कतार र साउदी अरबमा सुर्तीजन्य, नशाजन्य पदार्थको सार्वजनिक प्रयोगलाई निषेध गरिएको छ। तर नेपाली कामदारले आदतवश उक्त कानुन तोड्ने गर्दा उनीहरू जेलसम्म पुगेका छन्।
साउदीमा कार्यरत रामबहादुर तामाङको मादक पदार्थ सेवन गर्ने लतले उनलाई जेलसम्म पुर्याएको छ। उनको यो आदतका कारण उनी अहिले साउदीको मलाजस्थित जेलमा बस्न बाध्य छन्। 'साउदीको कानुन थाहा नपाउँदा समस्या भएको हो,' उनलाई उद्धृत गर्दै पीडित परिवारले जनाएको छ।
उनीसँगै उही अभियोगमा सुवास तामाङ पनि जेलमा छन्। 'मादक पदार्थ सेवन गर्ने बानी आफैँमा राम्रो होइन,' एक दूतावास अधिकारीले भने, 'त्यसमाथि साउदी अरबको कानुन नबुझी नेपालजस्तो जहाँ पायो त्यहाँ गल्ती गर्दा नेपाली समस्यामा छन्। यही अभियोगमा साउदीमा कार्यरत सोम राम, शेरबहादुर भण्डारी, काशीराज राईलगायत अहिले पनि जेलमा छन्।'
मादक पदार्थ सेवन गरेकै अभियोगमा मात्र तीन दर्जनभन्दा बढी नेपाली युवा जेलमा रहेको आधिकारिक जानकारी दूतावासमा पुगेको छ। ती दूतावास अधिकारीले भने, 'यीबाहेक अरू ठाउँका जेलमा पनि नेपाली रहेको सुनिएको छ तर त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन।' साउदी अरबमा सार्वजनिक ठाउँमा मादकपदार्थ सेवन गर्नु गैरकानुनी काम हो।
...
नीलडाम कमाएर फर्किनेहरू
गत वर्ष पैसा कमाउन मलेसिया पुगेका थिए, ओखलढुंगाका पदमबहादुर खत्री। उनीसँगै रुकुमका नारायण सुनुवार र काठमाडौँका अकलबहादुर बम्जन पनि मलेसिया पुगेका थिए।
उनीहरूले सुरुका दिनमा रूख काट्ने काम पाएका थिए। तर त्यही क्रममा मलेसियाको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो र जेल हालेको थियो। 'एघार महिना जेल बसियो। त्यहाँको यातना यति धेरै थियो कि त्यसको चर्चा गरेर साध्य छैन,' पदमबहादुरले भने, 'हामीले यातना मात्र पायौँ। किन जेल हालेको भन्नेसम्म पनि थाहा पाएका छैनौँ।' उनीहरूको शरीरभरि घाउ छ। मलेसियाको सावा जेलमा कैदी हुँदा उनीहरूले साह्रै दुःख पाए।
वालकुमारीस्थित इन्टरनेशनल मेनपावरले न्यूनतम तलब आठ सय रिंगिट दिने भन्दै गार्डेनर भिसामा ४० हजार रुपैयाँ लिएर पदमबहादुरलाई मलेसिया पठाएको थियो। तर मलेसियामा भनेको काम नदिई उनलाई रूख काट्ने काममा लगाइएको थियो।
पदमबहादुरसँगै काम गर्ने नारायण सुनुवार कनेक्शन म्यानपावरबाट मलेसिया पुगेका थिए। उनलाई पनि रूख काट्ने काम लगाइएको थियो। 'प्रहरीले किन समात्यो भन्नेबारे जानकारी पाइनँ,' उनले भने।
ह्युमन मेनपावरबाट नर्सरी कामदारको भिसामा ६५ हजार रुपैयाँ बुझाएर मलेसिया पुगेका अकलबहादुर बम्जन पनि रूख काट्ने काममा लागे। उनले पनि अनाहकमा जेल बस्नुपर्यो।
नेपालमा खर्च गरेर पैसा कमाउन पुगेका उनीहरू शरीरभरि चोट बोकेर फर्किएका छन्। उनीहरूले एउटै स्वरमा भने, 'पैसा हैन, पीडा कमाएर फर्कियौँ।'
काममा जानेलाई टिप्स
–मान्यताप्राप्त संस्थाबाट सम्बन्धित मुलुकको कामका बारेमा अभिमुखीकरण तालिम लिएर मात्र जानुपर्छ।
–छापिएका विज्ञापनहरूको आधिकारिकताका बारेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा जानकारी राखेर मात्र रोजगारीका लागि जानुपर्छ।
–भिसा र कामको सम्पूर्ण कागजातसम्बन्धी पूर्ण जानकारी पछि मात्र लागत खर्च दिनुपर्छ। सरकारी निकायले तोकेअनुसार पैसा दिनुपर्छ।
–मलेसिया जाने कामदारले विभिन्न प्रकारका चिट्ठा कार्यक्रम खेल्नु हुँदैन। टोटो नाममा खेलाइने चिट्ठामा रकम लगानी गर्दा कमाइ गुम्ने खतरा हुन्छ।
–काममा पुगेको सम्बन्धित मुलुकको श्रमसम्बन्धी कानुनी व्यवस्था जानुअघि बुझ्नु उपयुक्त हुन्छ। गएपछि अलपत्र नपर्नका लागि उक्त जानकारी आवश्यक छ।
–अनिवार्य अभिमुखीकरण तालिमसहित आफू रोजगारीका लागि जान लागेको मुलुक, कामको प्रगति, दूतावासबारे जानकारी राखौँ।
–गैरआवासीय नेपाली संस्था भए/नभएको बारे जानकारी राखौँ।
–स्वास्थ्य राम्रो बनाएर मात्र जाऔँ। झुटो स्वास्थ्य रिपोर्ट बनाउँदा जोखिम हुने हुँदा इजाजतपत्र पाएको स्वास्थ्य संस्थामा मात्र राम्रो चेकजाँच गराई रोजगारीमा जानुअघि चिकित्सकसँग सल्लाह गरौँ।
–वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट सल्लाह र परामर्श लिएर मात्र विदेश जानुपर्छ।
