सरकारले उनको सम्पूर्ण उपचार खर्च व्योहरिदिने घोषणा गरेपनि सरकारी कर्मचारी गम्भीर बिरामी भए उपचारका लागि पाउने ५ लाख रकम बाहेक उनले एक रुपैयां पनि पाएका छैनन् ।
नयाँदिल्ली, जेष्ठ ५ - चिकित्सक चित्रप्रसाद शर्मा वाग्ले ले आफ्नो जीवनका महत्त्वपूर्ण दुई दशक दुर्गम क्षेत्रमै बिरामीहरुको सेवामा बिताए, त्यो पनि सरकारी जागिरेका रुपमा । सहरी सुखसुविधाले उनलाई कहिल्यै आकर्षित गरेन । सशस्त्र द्वन्द्व चुलीमा हुँदा पनि उनले हिंसाग्रस्त जिल्लामै रहेर काम गरे । कति बिरामीलाई नयाँ जीवन दिए ।
तर करिब एक वर्षयता क्यान्सरले समातेपछि नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा आऊजाऊ गरिरहेका उनी आफै मृत्युसँग संघर्ष गरिरहेका छन् । उनले १२ वर्ष बिताएको अर्घाखाँची जिल्लादेखि लिएर देशभरकै शुभेच्छुकहरुको माया र सद्भाव त पाएका छन्, तर जसको कर्मचारी भएर जनताको सेवा गरिरहेका थिए, त्यही सरकारले नै उनलाई पर्याप्त ध्यान दिएको छैन । बाबुराम भट्टराई नेत्तृत्वको सरकारले उनको सम्पूर्ण उपचार खर्च व्योहरिदिने घोषणा गरे पनि सरकारी कर्मचारी गम्भीर बिरामी भए उपचारका लागि पाउने ५ लाख रकम बाहेक उनले एक रुपैयाँ पनि पाएका छैनन् । एपेन्डिक्स्को क्यान्सरको उपचार गराइरहेका उनलाई अर्को बज्रपात पर्यो, त्यो क्यान्सर कलेजोमा पनि फैलियो । अहिले उनलाई महिनाको दुई पटक किमोथेरापी गर्नका लागि नयाँ दिल्ली आउनुपर्ने अवस्था छ । एकपटक किमोथेरापी गर्दा ३ लाख नेपाली रुपैयाँ भन्दा बढी लाग्छ । त्यसमाथि आऊजाऊ र औषधी खर्च अनि कोठा भाडाको त हिसाबकिताबै छैन ।
'अहिलेसम्म मेरो २५ लाख रुपैयाँ खर्च भइसक्यो । सबै उपचार खर्च व्योहोरिदिने भनेपनि सरकारले ५ लाख रुपैयाँबाहेक सुको दिएको छैन,' उनले गुनासो गरे । 'म बिरामी मान्छे कतिपटक सरकारको ढोकामा धाऊँ ? 'आश्वासन बाहेक केही पाइन, सायद सरकारको नजरमा हामीजस्ता सरकारी कर्मचारीको जीवनको मूल्य रहेनछ,' उनले भावुक हुँदै भने ।
सरकारले नेताहरु तथा सिंहदरबारमा काम गर्ने कर्मचारी र दुर्गम क्षेत्रमा रहेका कर्मचारीबीच भेदभावपूर्ण व्यवहार देखाएको बुझाईले उनलाई निकै बिझाएको रहेछ ।
'नेताहरुलाई अमेरिका, भारत वा अन्य मुलुकमा उपचारका लागि लैजान राज्यकोषबाट करोडौं खर्च गरिन्छ तर दुर्गम क्षेमा रहेर मरिमेट्ने सरकारी कर्मचारीलाई प्रक्रिया देखाएर लामो समयसम्म झुलाएर राखिन्छ । मेरो निधनपछिको सहयोग के काम ?,'आक्रोशपूर्ण लवजमा उनले भने ।
'मेरो जस्तो अवस्था कुनै पनि सरकारी कर्मचारीले भोग्नुनपरोस्,' उनले थपे ।
एकातिर क्यान्सरबाट ग्रसित हुनुपरेको अथाह पीडा छँदैछ तर अर्कोतिर त्यो पीडालाई लुकाएर आफ्नोमात्र होइन परिवारका सदस्य, शुभचिन्तकहरु सबैको मनोबल बलियो बनाउन उनी अहिले पनि लागिरहेका छन् । 'एकदिन त सबैलाई जानुनैपर्छ । तर मेरो हकमा कारण थाहा भयो, त्यत्ति हो', उनले सम्हालिंदै भने ।
तर उनलाई दुर्गम क्षेत्रमा गएर जनताको सेवा गर्ने धोको भने अझै मेटिएको छैन ।
'रोग निको भयो भने त म फेरि अर्घाखाँचीमै फर्किन्छु । दुर्गममै बसेर जनताको सेवा गर्छु,' उनले आफ्नो योजना सुनाए ।
