साताभित्रै सहमति नभए जेठमा चुनाव 'कठिन'


काठमाडौ, फाल्गुन १२ - जेठमा चुनाव गर्न एक साताभित्रै सहमति हुनुपर्ने देखिएको छ । निर्वाचन आयोगका पदाधिकारीले संकलन भइरहेका फोटो सहितका मतदाता परिचयपत्र प्रयोग गर्नुपर्ने र मतपत्र छपाइ गर्ने मेसिन मर्मत तत्काल गर्नुपर्ने बताए । यसैगरी पछिल्लो जनगणनाको नयाँ तथ्यांका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा भने समय बढी लाग्ने पनि उनीहरूको भनाइ छ ।

'अबको निर्वाचन फोटोसहितको मतदाता नामावलीका आधारमा हुनेछ,' आयोग स्रोतले कान्तिपुरसँग भन्यो, 'तर मधेसवादी दलहरूले अधिक मतदाता छुटेका छन्, तिनलाई नागरिकताबाहेकको प्रमाणका आधारमा फोटोसहितको मतदाता नामावली संकलन गर्न भनिरहेका छन् । त्यसले भने अप्ठ्यारो पार्छ ।' यसप्रति एमाओवादी, कांग्रेस र एमालेसमेत लचिलो देखिएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै २०६४ कै मतदाता नामावलीका आधारमा निर्वाचन हुनुपर्ने माग गरेको छ । 'मतदाता नामावलीलाई पूर्णता दिन गत ०६४ को मतदाता नामावलीलाई आधार बनाइनुपर्छ,' ०६८ चैत मसान्तसम्म बालिग भएकाको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष शरत सिंह भण्डारीले भनेका छन्, 'नागरिकता प्रमाणपत्रका आधारमा मतदाता नामावलीमा नाम समावेश गर्ने प्रावधानले मतदान गर्ने अधिकारबाट वञ्चित तुल्याउने र यसले निर्वानको परिणाम सही नहुने हुँदा यस्तो प्रावधान खारेज गरी मतदाता नामावली तयार गर्ने अन्य आधार प्रयोग हुनुपर्छ ।' विद्यमान कानुनी व्यवस्थाअनुसार नागरिकता प्रमाणपत्र भएकाले फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन पाउँछन् ।

आयोगले हालसम्म १ करोड १० लाखको फोटासहितको मतदाता नामावली संकलन गरेको छ । 'मधेसवादी दलहरूको माग सम्बोधन गर्ने हो भने आयोगले गरेको मतदाता नामावली संकलनको औचित्य रहने छैन, निर्वाचन पनि जेठमा गर्न कठिन हुनेछ,' आयोगका एक अधिकारीले भने ।

यसअघि आगामी राष्ट्रिय निर्वाचनमा विद्युतीय मतदान यन्त्र (इलेक्ट्रोनिक भोटिङ मेसिन/ईभीएम) प्रयोग गर्ने भनिएको थियो । तर तत्काल निर्वाचन गर्न मतदान यन्त्र झिकाउन समय लाग्ने भएपछि मतपत्रकै आधारमा हुने भनिएको छ ।

चारदलीय गठनबन्धले मतपत्रकै आधारमा निर्वाचन गराउने भने पनि तीन महिनाभित्र मतपत्र छपाइ गर्ने मेसिन छैन । २०६४ को संविधानसभाको मतपत्र छपाइका निम्ति अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को सहयोगमा १३ करोड रुपैयाँ पर्ने मेसिन उपलब्ध थियो । सरकार नियन्त्रित जनक शिक्षा सामग्री केन्द्रमा राखिएको उक्त मेसिन  बिग्रिएको छ । मेसिन मर्मत गर्न करिब १० करोड लाग्ने दाबी सम्बद्ध अधिकारीको छ ।

आयोग प्रवक्ता अनिलकुमार ठाकुरले फोटोसहितको मतदाता नामावली संकलन जारी रहेको बताए । 'निर्वाचन शिक्षा कार्यक्रमलाई प्रत्येक गाविसका वडा तहसम्म प्रभावकारी तुल्याउन स्वयंसेवक तयारी गर्दैछौं,' महिना दिनभित्र पाँच हजार स्वयंसेवक तयार हुने उल्लेख गर्दै उनले भने ।



हरपल नयाँ खबर !

Watch this Video Click Here

Powered by Blogger.