भारतीय वनरक्षकद्वारा गोली प्रहार
गुलरिया, वैशाख ३१ - सीमावर्ती भारत मुर्तिहा रेन्जपोस्टका सुरक्षाकर्मीले बर्दियासँग जोडिएको अन्तर्राष्ट्रिय सीमा दशगजामा नेपालीमाथि गोली चलाएको छ । आइतबार दिउँसो करिब ४ बजे वनरक्षकको गोली प्रहारबाट गुलरिया ४, हस्नापुरकटीका मनोज यादव घाइते भएका छन् । उपचारपछि उनले सोमबार स्थानीय प्रशासनलाई घटना अवगत गराएका थिए । भे४प१२५४ नम्बरको मोटरसाइकलमा चढी दशगजा हँुदै गुलरिया १, भगरैया टोलस्थित खेतबाट घर र्फकने क्रममा वनरक्षकले यादवमाथि लक्षित गरी गोली चलाउँदा घाइते भएका हुन् । उनको दाहिने हातमा गोली लागेको छ । उनको घरबाट आफ्नो खेत पुग्न बाटो नभएकाले दशगजा हुँदै आउजाउ गर्नुपर्ने बाध्यता रहेको बताए । दशगजामा रोक्ने प्रयास गर्दागर्दै गोली चलाएको यादवले बताए । वनका दरोगा खड्गबहादुरको कमान्डमा खटिएको टोलीका सदस्य वाचर जयप्रकाशले गोली प्रहार गरेको जानकारी उनले स्थानीय प्रशासनलाई गराएका छन् । घटनामा शंकर नाम गरेका वनका फरेस्टर पनि संलग्न थिए । दशगजामा आउजाउ गर्नेमाथि बिनाकारण गोली चलाएपछि सीमावर्ती क्षेत्र आतंकित भएको छ । भारतीय घना जंगलसँग जोडिएको दशगजाबाट वन रक्षकले करिब २० मिटर पर रहेका यादवमाथि ५ राउन्ड गोली प्रहार गरेका थिए । गोली छल्दै यादव नेपाली भूभागमा मोटरसाइकल हुइँकाउँदै भागेर ज्यान जोगाएका छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको छ । उनीमाथि वनरक्षकले गोली प्रहार गरी घाइते बनाएकामा गाउँले आक्रोशित भएका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारीसँग वन रक्षकलाई कारबाहीका लागि दबाब दिन भारतीय समकक्षीसँग कुरा गर्न माग गरेका छन् । प्रजिअ मानबहादुर विकले घटनाबारे भारतीय समकक्षीसँग कुरा गर्ने जनाए । स्थानीय मुक्तिनाथ यादवले स्थानीय प्रशासन यस विषयमा लाचार भएकाले यसको प्रतिवाद जनताले गर्ने बताएका छन् । गत फागुन १४ गते पनि भारतीय सीमावर्ती मुर्तिहाको जंगलमा वनरक्षकले गोली चलाउँदा गम्भीर घाइते भएका गुलरिया ११ का राममिलन लोधको अवस्था हालसम्म अज्ञात छ । भारतीय जंगलमा घाँसदाउरा लिन गएका नेपाली नागरिकमाथि भारतीय वन रक्षकले गोली चलाउँदा दुईजना घाइते भएका थिए । त्यस्तै ०६७ साल फागुन पहिलो साता जमुनीका हर्कबहादुर शाहीलाई भारतीय सुरक्षकर्मीले गोली प्रहार गरी बेपत्ता पारेका थिए । उनको अवस्थासमेत अज्ञात छ ।



